तीनवटै प्रतिवेदनले भरोसा जगाउन सकेन : प्रदीप पौडेल

तीनवटै प्रतिवेदनले भरोसा जगाउन सकेन : प्रदीप पौडेल



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय समितिमा प्रस्तुत तीन प्रतिवेदनले भरोसा जगाउन नसकेको बताएका छन् । शुक्रबार केन्द्रीय समितिको बैठकमा पौडेलले प्रतिवेदनमा समस्या आएपनि समाधानका लागि ठोस प्रस्ताव नभएको बताए ।

‘तपाईहरुले समस्या सबै ल्याउनुभएको छ । समस्या बुझेको देखिन्छ । केही समाधानका बारेमा गगन जीले समेट्नु भएको छ । तर, पूर्ण हुन सकेन । कुनैपनि दस्तावेजमा समाधान गर्ने गरी आएनन्,’ पार्टी बैठकमा पौडेलले भने ।

निराशामा रहेको पार्टी कार्यकर्तालाई भरोसा दिने गरी प्रतिवेदन नआएको पौडेलको तर्क थियो । कांग्रेसमै रहने कि पार्टी छोड्ने भनेर महासमितिको बैठकको प्रतिक्षा गरेकालाई कांग्रेसमा रहने गरी आशा सञ्चार गर्न प्रतिवेदनले नसकेको पौडेलको निर्क्योल थियो । ‘जो कांग्रेसमा बसौं कि अरु तिर जाऔं भन्ने मनस्थिति बनाएका छन् । यस्तो सन्देशले कांग्रेसमै रोक्न सकिन्न,’ पौडेलले भने । सुशासन शब्दले प्रतिवेदनमा एकदमै धेरै ठाउँ पाएपनि सुशासन ल्याउने विधिबारे प्रतिवेदन मौन रहेको पौडेलले सुनाए ।

‘दस्तावेजमा शब्द मात्रै राखेर सुशासन आउँछ त ? सुशासन ल्याउने प्रक्रिया के हो ?’ पौडेलको प्रश्न छ, ‘सुशासन मन्त्रालय बनाउने हो कि ? अख्तियारलाई निष्पक्ष बनाउने हो कि ? लागू गर्ने कार्ययोजना के हो ?’

सरकारमा बसेको दलले बोलेर मात्रै नहुने र व्यवहारमा देखिनुपर्ने पौडेलले बताए । संघीयता बोझिलो भएको भनिरहँदा प्रशासनिक खर्च कटौतीबारे दस्तावेजमा कुनै विषय उल्लेख नभएको उनको भनाइ छ । ‘आर्थिक संकट भएको कुराहरु व्यापक रुपमा बाहिर आइरहेका छन् । त्यसलाई हल गर्ने प्रतिवेदनमा के आयो ?’