एमालेको पहलमा शान्तिप्रक्रिया टुंगोमा पुग्छ : ओली

एमालेको पहलमा शान्तिप्रक्रिया टुंगोमा पुग्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पहलमा शान्तिप्रक्रिया टुङ्गोमा पुग्ने चरणमा रहेको बताएका छन् ।

विश्व सामाजिक मञ्च २०२४को अवसरमा नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको समाजवादको विश्वव्यापी सम्भावना नामक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले अहिलेको संविधानमा सामाजिक न्यायसहितको अधिकार स्थापित गरेको भन्दै यसलाई सबै मिलेर कार्यान्वयन गरिने धारणा राखे । एमाले सरकारमा रहँदा सामाजिक न्यायसहितको आर्थिक विकासमा जोड दिएको र त्यसका लागि आवश्यक पूर्वाधार बनाएको दाबी गरे ।

महिला अधिकार, शिक्षा, स्वच्छ खानेपानी र स्वास्थ्य बिमासहित सामाजिक सुरक्षाका क्षेत्रमा एमाले सरकारले धेरै काम गरेको उनले बताए ।

पूर्वप्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल: सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताए । उनले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नै सो अवधारणालाई अघि सारेको समेत बताए ।

नेपालले गरिवीविरुद्धको लडाइमा सफलता हासिल गरेर मात्रै समाजवादमा पुग्ने भएकाले आफ्नो पार्टीले जनतामा खुसी ल्याउने गरी मुलुकको समृद्धिको बाटो तय गरेको अध्यक्ष ओलीले बताए । उनले नेपालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेकुरा संविधानमै व्यवस्था गरेकाले त्यसको कार्यान्वयनमा आफूहरुले जोड दिएको बताए ।

ओलीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझै घनिभूत बनाएर लैजानुपर्ने आवश्यकता पनि औँल्याए ।

उनले भने, ‘हामी प्राथमिकता राष्ट्रिय स्वतन्त्रता हो । हाम्रो परराष्ट्र नीति र सम्बन्ध पारस्परिक लाभ, आपसी सम्मान, सामाजिक न्यायको आधारमा हुन्छ । हामी प्रतिबद्ध छांै–समृद्ध नेपाल: सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्नका लागि । समृद्ध नेपाल: खुसी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो । गरिबी विरुद्धको लडाइँमा सफलता हासिल गर्नु नै नेपाली विकासको अवधारणा हो ।’