राहदानी बनाउन नपाउँदा पोर्चुगलमा रहेका नेपाली समस्यामा

राहदानी बनाउन नपाउँदा पोर्चुगलमा रहेका नेपाली समस्यामा


ग्लोब नेपाल
324
Shares

लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन् । विभिन्न मुलुक हुँदै पोर्चुगल आएका नेपालीले नयाँ राहदानी बनाउन र नवीकरण गर्न बनाउन नपाउँदा समस्यामा परेका हुन् । राहदानीको समस्याले गर्दा विशेषतः पोर्चुगल बसाइको वैधानिकताका लागि यहाँको अध्यागमन निकाय एकीकरण, आप्रवासन र शरणमा बायोमेट्रिकको तयारीमा रहेका नेपालीहरू बढी मारमा परेका छन् ।

पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि राजदूत नियुक्त भइसकेको भए पनि दूतावास कहिलेसम्म आउने भन्ने तिथिमिति तय भइसकेको छैन । राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपालीहरूले दूतावास आउन ढिलाइ भए पनि तत्काल राहतका लागि घुम्ती टोलीसम्म पनि नआएको भन्दै गुनासो गरेका छन् ।

राहदानीको म्याद सकिनै लागे पनि नयाँ राहदानी बनाउन नपाउँदा आफू समस्यामा परेको फ्रान्स हुँदै २० महिनाअघि पोर्चुगल आएका पोखराका रवि थापाले बताए । “मेरो राहदानीको म्याद सकिन अब डेढ महिनामात्रै बाँकी छ, मेरा धेरै साथीहरूको पनि राहदानीको म्याद सकिन लागेको छ । हामी यहाँको वैधानिक बसाइका लागि बायोमेट्रिकको पर्खाइमा छौँ । तर राहदानी बनाउन नसक्दा समस्यामा परेका छौँ”, थापाले भने । राहदानी बनाउनका लागि जोखिम मोलेरै भए पनि स्पेनको मेड्रिडमा रहेको नेपाली दूतावास जाने तयारी गरेको उनले बताए ।

स्याङ्जाका युवराज रोकाको समस्या पनि उस्तै छ । क्रोसिया हुँदै डेढ वर्षअघि पोर्चुगल आएका रोकाको राहदानीको म्याद सकिन दुई महिनामात्रै बाँकी छ । हाल मदेइरामा कार्यरत रहेका उनको राहदानीको म्याद सकिन थालेपछि चिन्तित छन् । राहदानी बनाउन ढिलाइ भए यहाँको कागजी प्रक्रियामा समस्या हुने रोकाले बताए । “सरकारले छिट्टै टोली पठाइदिए त हामीजस्ता समस्यामा परेकालाई ठूलै राहत हुने थियो”, रोकाले भने ।

लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालयले दिएको तथ्याङ्कानुसार राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउने नेपालीको सङ्ख्या दुई हजार छ सयभन्दा बढी छ । जसअनुसार दुई हजार ९७ जनाको नवीकरण, चार सय ५० जनाको हराएको र ६५ जना बालबालिकाको नयाँ राहदानी बनाउनुपर्ने आवेदन छ । विशेषगरी पोर्चुगल बसाइको वैधानिकताका लागि यहाँको अध्यागमन कार्यालय एकीकरण, आप्रवासन र शरणमा बायोमेट्रिकको तयारीमा रहेका नेपालीले राहदानी बनाउन नपाउँदा बढी समस्यामा परेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले भने ।

“हामीले तत्कालको समस्या समाधानका लागि फ्रान्सस्थित दूतावासबाट घुम्ती टोली ल्याउन पहल गरिरहेका छौँ, टोली आउने-नआउनेबारे अहिलेसम्म आधिकारिक जानकारी आइसकेको छैन । तर तत्काल टोली नआउने हो भने त यहाँको वैधानिक बसाइका लागि बायोमेट्रिकको तयारीमा रहेका धेरै नेपालीलाई सस्या हुने अवस्था छ”, महावाणिज्यदूत हमालले भने ।”

पोर्चुगलमा रहेका नेपालीको समस्याका विषयमा आफू जानकार रहेको र राहदानी बनाउने सन्दर्भमा जतिसक्दो छिटो टोली आउने तयारीमा रहेको फ्रान्सको पेरिसस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सीता बस्नेतले बताए । “दूतावासबाट पोर्चुगल जाने यसअघि नै हाम्रो कार्यतालिकामा थियो, तर कर्मचारी अभावका कारण त्यो सम्भव भएन”, बस्नेतले भने ।

राहदानीसम्बन्धी देखापरेको समस्याका सन्दर्भमा परराष्ट्र मन्त्रालय र राहदानी विभागलाई यसअघि नै पत्राचार गरी जानकारी गराइसकेको उनले बताइन । “हामीले पोर्चुगललाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, आवश्यक प्रक्रियाका लागि मन्त्रालयको निर्देशनको पर्खाइमा छौँ”, बस्नेतले भनिन । विभागबाट निर्देशन आएलगत्तै टोली लिस्बन आउने उनको भनाइ छ ।

पछिल्लो समय रोजगारीका सिलसिलामा पोर्चुगल आउने नेपालीको सङ्ख्या बढ्दै गएको छ । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ५० देखि ६० हजार हाराहारीमा रहेको अनुमान छ । यसअघि गत वर्ष पनि फ्रान्सस्थित नेपाली दूतावास र राहदानी विभाग काठमाडौँको टोली आएर राजधानी लिस्बनमा करिब एक महिनासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो । उक्त घुम्ती सेवाबाट दुई हजार तीन सय आठ नेपालीको प्रत्यक्ष दर्ता प्रणालीमार्फत विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको थियो ।