मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ । 

आइतबार बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सचेतक महेश बर्ताैलाले गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानविन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै उनलाई बर्खास्त गर्नुपर्ने बताए । 

मन्त्री स्वयंले राजीनामा दिनुपर्नेमा नदिएकाले उनलाई बर्खास्त गर्नुपर्ने र यस घटनामा गृहमन्त्री पनि जोडिएको उनको भनाइ छ । ‘भौतिक पूर्वाधार मन्त्री नै दोषी रहेको कुरा जुन भन्दै आइएको थियो त्यो प्रतिवेदनले पनि स्पष्ट पार्यो । यति स्पष्ट पारिसक्दा पनि अहिलेसम्म न मन्त्रीले नैतिकताको प्रदर्शन गर्नु भएको छ न सरकार, न प्रधानमन्त्रीले,’ उनले भने ।

विमानस्थलमा प्रहरी र अध्यामगन कर्मचारीबीचको कुटाकुट भएको घटनामा छानबिन समितिले दोषी देखाएका प्रहरीलाई कारबाही गरेको सरकारले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई जोगाएर ‘सानालाई ऐन ठूलालाई चैन’ भनेजस्तै भएको सचेतक बर्ताैलालले बताए । 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुको प्रश्नोत्तरको कार्यसूची छ ।