बालकुमारी घटनाकाे प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु : प्रधानमन्त्री

बालकुमारी घटनाकाे प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन आफूले बुझेपछि अध्ययन गरेर कारबाही गर्ने बताएका छन् ।

दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो, जसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई समेत जिम्मेवार मानिएको छ ।

आइतबार संसदको बैठक सुरु भएलगतै प्रमुख प्रतिपक्षी नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री ज्वालाको राजीनामा मागेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले समेत प्रश्न उठाएका थिए । मृतकका परिवारलाई १० लाख रुपैयाँ दिएर सरकार चुप बसेको लामिछानको आरोप थियो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले १० लाख दिएर चुप बसेको भन्ने गलत भएको बताए । सरकार गम्भीर भएर नै घटनामा संलग्नहरुलाई निलम्बन गर्नुका साथै छानबिन प्रक्रिया अगाडि बढाएको भन्दै उनले भने, ‘१० लाख दिएर चुप लागेर बसेको भन्ने गलत हो । छानबिन प्रतिपक्षले बनाएको होइन होला, मेरै प्रस्तावमा बनेको हो ।’

आयोगको प्रतिवेदन आजै आफूले बुझ्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘अहिलेसम्म मैले हरेको छैन । आज क्याबिनेट बस्दैछ, अध्ययन गरेपछि कारबाही गरिन्छ ।’

उनले भने, ‘त्यो घटना विशेष भएकै कारण हामीले परिवारका सदस्यलाई राहत स्वरुप लिएको हो । रोजगारीका लागि विदेश जानका लागि हत्या भएको घटनालाई गम्भीर रुपमा लिएर परिवारका एक एक जनालाई रोजगारी दिने निर्णय पनि गरेको छ ।’