कांग्रेस महासमिति बैठकमा १२६ पृष्ठको छुट्टै दृष्टिपत्र पेस गर्दै महर

कांग्रेस महासमिति बैठकमा १२६ पृष्ठको छुट्टै दृष्टिपत्र पेस गर्दै महर



काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले फरक प्रस्ताव पेस गर्ने भएका छन्। महर महासमिति बैठकमा पार्टी उपसभापति र महामन्त्रीहरूले पेस गर्ने राजनीतिक दस्ताबेजसँग सन्तुष्ट छैनन्। त्यसैले उनले १२६ पृष्ठको फरकै दस्ताबेज पेस गर्ने भएका हुन्। उनले उक्त दस्ताबेजलाई कांग्रेसको दृष्टिपत्र भएको बताएका छन्। 

मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) आजदेखि ललितपुरको गोदावरीमा प्रारम्भ हुँदै छ। महासमिति बैठक आज सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यसूची रहेको छ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रतिवेदन पेस गर्ने र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

‘पदाधिकारीहरूले मिलेरमात्रै तयार पारिएको प्रतिवेदनमा हाम्रो कुरा कहीँ सुनिएन। केन्द्रीय समितिको आवाज सुनुवाइ हुनुपर्छ। देशभरका महासमिति सदस्यहरूको आवाज सम्बोधन हुनुपर्छ। त्यो नहुने देखिएपछि सबैसँग समन्वय गरेर मैले फरक प्रस्ताव पेस गर्ने भएको हुँ,’ महरले भने।

महासमिति बैठकमा उठाउनुपर्ने एजेण्डाका बारेमा अनलाइनमार्फत मागिएको सुझावहरू समेटेर प्रतिवेदन तयार भएको उनको भनाइ छ। आफूले तयार गरेको प्रतिवेदन महासमिति सदस्यहरूका बीचमा छलफल गराउन पार्टीले प्रवेश नगराए प्रतिनिधिहरूलाई वितरण गरिने उनले बताए।

पाटीभित्र टिकट वितरण संरचना अनुसार तत् तत् पार्टी संरचनाले टुंगाउनु पर्ने उल्लेख गरेका छन्। जनताको भरोसा प्राप्त प्रतिष्ठित व्यक्तिलाई निश्चित प्रतिशतमा ल्याटरल इन्ट्रीमार्फत पार्टीमा प्रवेश गराउनुपर्ने उनको तर्क छ।

पार्टीको एक पदमा बढीमा दुईपटक र उम्मेदवार तीन पटकभन्दा हुन नपाउने व्यवस्था गर्नुपर्ने उनको प्रतिवेदनमा उल्लेख छ।

‘कांग्रेस नेतृत्वमा बनेको संविधानको कार्यान्वयन, ‘नि:शुल्क स्वास्थ्य, शिक्षा, गुणस्तरीय यातायात तथा सञ्चारसँगै उद्यमशीलतासहितको रोजगार, नेपाली कांग्रेसको अधिकार’, जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा पार्टीको अभियान, कृषिको आधुनिकीकरण र आत्मनिर्भरता, ऊर्जाको अधिकतम उत्पादन, उपयोग र व्यापार, सुरक्षित र दिगो पर्यटन प्रवर्द्धन, राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीत मैले प्रतिवेदनमा समेटेको छु,’ उनले भने। 

यसका साथै डिजिटल इकोनोमी, सुशासनको स्थापना र भ्रष्ट्राचारको अन्त्य, दिगो विकास लक्ष्य हासिल गर्न सङ्कल्पित, प्रविधिमैत्री कांग्रेसको निर्णय, विधानको अक्षरशः पालना, पार्टीमा थिङ्क ट्याङ्को स्थापना र उपयोगलगायत विषय प्रतिवेदनमा समावेश गरिएको महरले जनाए।

घोषणापत्रमा युवा कांग्रेसको स्थापना, प्रशिक्षणको आधारमा क्रियाशील सदस्यता प्राप्ति, क्रियाशील सदस्यता र नवीकरण गर्दा सम्पत्ति विवरणको सार्वजनिकीकरण, पार्टीमा एक व्यक्ति एक पद दुई पटक, एक व्यक्ति ३ पटकमात्र सांसदको उम्मेदवार, कांग्रेस आफ्नै सङ्गठनको बलमा एक्लै चुनावी प्रतिस्पर्धामा जाने, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्ष पार्टीको केन्द्रीय सदस्य, तीनै तहको सरकार सञ्चालनको लागि संयन्त्रको निर्माण, वडा सभापतिको नेतृत्वमा वडा स्तरीय भ्रातृ संस्था सम्मिलित एकीकृत टिम निर्माण र परिचालन, पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरू तल्लो तहबाटै महाधिवेशनमा प्रतिनिधिमा निर्वाचित हुनुपर्ने, हरेक महादेशबाट जनसम्पर्क समितिको प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा उपस्थिति, गुटको अन्त्य गर्न वडा तहबाटै चिट बाँडेर समूह बनाएर चुनाव लड्ने प्रवृत्ति हटाउनेलगायत विषयलाई महरले प्राथमिकताका साथ उठाएका छन्।

आजबाट सुरु हुने बैठकमा १६५ केन्द्रीय सदस्य, हरेक निर्वाचन क्षेत्रबाट एक हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष  सहभागी हुने जनाइएको छ।

यस्तो छ महरले तयार पारेको १२६ पृष्ठको दृष्टिपत्र