विश्वविद्यालयको उपकुलपतिमा भागबण्डा नगरिएकामा ओलीको आपत्ति

विश्वविद्यालयको उपकुलपतिमा भागबण्डा नगरिएकामा ओलीको आपत्ति


ग्लोब नेपाल
54
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले विश्वविद्यालयका उपकुलपति नियुक्तिमा सरकारले भागबण्डा नगरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भागबण्डा नगरी सत्ता गठबन्धनले एकलौटी नियुक्त गर्न लागेको भन्दै विरोध गरेका हुन् ।

ओलीले असफल व्यक्तिलाई त्रिविविको उपकुलपति बनाउन लागिएको बताए । उपकुलपति नियुक्तिका लागि तीन जना असफलसिद्ध व्यक्ति छानेको सरकारले तेश्रो नम्बरका व्यक्तिलाई नियुक्ति गर्ने तयारी भएको दाबी गरे । शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले उपकुलपतिमा चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्कमल दाहाल समक्ष सिफारिस गरेको थियो ।

‘सत्ता गठबन्धनले अहिले नयाँ तरिका निकालेको छ भागबण्डा नगर्ने, एकलौटी गर्ने’, ओलीले भने, ‘मेरिटोक्रेसीको आधारमा लिने । एउटा समिति बनाउने, छानबिन गर्ने, यताउता गर्ने । अनि, असफलसिद्ध भइसकेका मान्छेहरुको छनौट गर्ने । अहिले ३ जना सिफारिस भएको छ क्यार । तीन जनामा पनि तेस्रो नै नियुक्त होला जस्तो लाग्छ मलाई त छाटकाँट हेर्दा ।’

यो खालको स्थिति अहिले पनि छ । ओलीले नेपालमा प्रजातान्त्रिक व्यवहार र अभ्यास हुन नसकेको टिप्पणी गरे । आफ्नो सरकारले बसालेको लोकतान्त्रिक पद्धती वर्तमान सरकारले भत्काउँदै लगेको आरोप ओलीले लगाए ।