एमालेलाई प्रचण्ड-देउवाले राष्ट्रियसभामा ललीपप देखाउन खोजे : ओली

एमालेलाई प्रचण्ड-देउवाले राष्ट्रियसभामा ललीपप देखाउन खोजे : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाको निर्वाचनलाई लिएर एमालेलाई बद्‍नाम गर्न खोजेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘सरकारले आफैं सबै पार्टी मिलेर जाऔं भनेर प्रधानमन्त्रीले नै प्रस्ताव राख्नुभएको थियो । त्यो प्रस्ताव पछि कांग्रेसका सभापतिसँग पनि परामर्श गरेर एउटा निष्कर्ष सुनाउनुभो लोकतन्त्रलाई सुदृढ बनाउन हामीले आधारभूत रूपमा मिलेर जानुपर्छ, त्यसो भएर एकलौटी नगरेर मिलेर जाऔं भन्नुभयो । त्यसैले त्यो प्रस्ताव अस्वीकार गर्ने हाम्रो कारण थिएन । हामीले अस्वीकार गरेनौं तर हामीले बुझेका थियौं आशंका थियो यो प्रस्ताव वास्तविक होइन भन्ने । र, अन्तिममा शान्ति प्रक्रियाको काम भोलि नै टुंग्याऔं भन्नुभयो ।’

उनले प्रचण्ड र देउवाले ललीपप देखाएर सिद्धान्त र नीति छाडेर मिल्छौं भन्ने खेल खेल्न खोजेको टिप्पणी गरे । ओलीले भने, हामीले उहाँहरूले भनेजस्तै बैठक बस्यौं तर अन्तिममा प्रचण्ड र देउवाले भनेको कुरा अरु सहयोगीले मानेनन् रे !’

अध्यक्ष ओलीले एमाले शान्ति प्रक्रिया अन्त्रगतको संक्रमणकालीन न्याय अविलम्ब टुंग्याउन चाहिरहेको बताए । उनले संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितलाई न्याय हुनेगरीमात्रै टुंग्याउनुपर्ने बताएका हुन् । उनले पीडकलाई सजाय घटाउने भनेर मात्रै नहुने भन्दै कति भनेर प्रस्ट हुनुपर्ने पनि बताए ।

‘हामी संक्रमणकालीन न्यायको समस्या अविलम्ब टुंग्याउन चाहान्छौ । यो टुंग्याउदा अव फेरि पीडितलाई नै पीडा थपेर, उनीहरूलाई करकाप मन्जुर छौ भनेर होइन, उनीहरूको पीडालाई न्याय दिएर अथवा पीडित मैत्री ढंगले यस समस्याको समाधान हुनुपर्छ’, ओलीले स्वेच्छाचारी ढंगले सजाय घटाउने कुरा उपहास मात्र हुने बताए ।

अध्यक्ष ओलीले वर्तमान सरकारले संक्रमणकालीन न्याय टुंग्याउने नाममा पीडितलाई थप पीडा दिने सम्भावना रहेको पनि बताए । ‘किनभने त्यस वेलाका विद्रोहीको तर्फबाट पीडा दिने समूहको एउटा पक्षबाट प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । अर्कोतिर हिंशा रोक्ने नाममा पीडा दिने शेरबहादुर गठबन्धनमा हुनुहुन्छ । दुवै पीडक राज्य सञ्चालनमा छन् । उनीहरु आफ्नो हितमा काम गर्न खोज्छन्’, उनले आशंका व्यक्त गर्दै भने, ‘ हिजो म प्रधानमन्त्री भएका बेला यो विषय टुंग्याउन चाहेको थिएँ । तर प्रचण्डजी र शेरबहादुरजी मान्नुभएन ।’