सर्वसाधारणको निक्षेप सुरक्षित छ, ढुक्क भएर कारोबार गर्नुस् : राष्ट्र बैंक

सर्वसाधारणको निक्षेप सुरक्षित छ, ढुक्क भएर कारोबार गर्नुस् : राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाविरुद्ध फैलाइएको हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्र बैंकले आज एक विज्ञप्ति निकालेर बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा राष्ट्र बैंकले नै दिएको निर्देशनको अधिनमा रही सञ्चालनमा रहने विज्ञप्तिमा उल्लेख छ । ती संस्थामा नियमितरूपमा निरीक्षण र सुपरिवेक्षण भइरहेको तर खराबी नदेखिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कामको पछाडि नलागी ढुक्कसँग नियमितरूपमा बैंकिङ कारोबार गर्न लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको तथा बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्णरूपमा सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ ।