विश्वकप लिग-२ : नामिबियासँग नेपालको दोस्रो हार

विश्वकप लिग-२ : नामिबियासँग नेपालको दोस्रो हार



काठमाडौं । विश्वकप लिग- २ क्रिकेटअन्तर्गत घरेलु मैदानमा जारी पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग २ विकेटको हार ब्यहोरेको छ ।

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले केवल १६९ रनको लक्ष्य दिएको थियो । नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हाे ।

सिरिजको पहिलो खेलमा पनि नेपाल, नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।

नामिबियाका लागि कप्तान जेराल्ड इरासमसले अर्धशतक प्रहार गरे। कुशल भुर्तेलको बलमा करण केसीबाट क्याच हुनुअघि उनले ५६ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।

नामिबियाले पाँच ओभरभित्र दुई विकेट गुमाए पनि इरासमस र मिकेल भानले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे । भानले कुशल मल्लबाट आउट हुनुअघि ३१ रन जोडे ।

अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न नसके पनि जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले अन्तिमसम्म ब्याटिङ गरेर नामिबियालाई जित दिलाए ।

स्मिथले ६६ बल खेलेर नटआउट ३४ रन जोडे भने ट्रम्पलम्यानले १६ रनमा आउट भए ।

बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिँदा कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशले एक-एक विकेट हात पारे ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ३७।१ ओभरमा सबै विकेट गुमाएर एक सय ६८ रन जोड्यो ।

नेपालका लागि आसिफ शेख ५८, कुशल मल्ल ३६,भीम सार्कीले २६ , कुशल भुर्तेल १८ र करण केसीले १२ रन जोडेर आउट भए । दीपेन्द्रसिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन बनाए। रोहित पौडेल, देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन् । ४३ रनमा ३ विकेट गुमाएको अवस्थामा आसिफले कुशल मल्लसँग ५७ रनको साझेदारी गरेका थिए । नेपालले एक सय रन जोड्दा चौथो विकेटका रुपमा आसिफ आउट भएका थिए । त्यसपछि नेपालले कुनै पनि विकेटका लागि गतिलो साझेदारी गर्न सकेन ।

नेपाल ५ रनको अन्तरमा सुरुका तीन विकेट गुमाएको थियो । त्यसअघि पहिलो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो। नामिबियाका बर्नार्ड स्कोल्ट्ज र जान निकोल लफ्टी इटनले ४/४ विकेट लिए ।