गठबन्धन सरकारप्रति पार्टीको बृहत् असन्तुष्टि छ : झलनाथ खनाल

गठबन्धन सरकारप्रति पार्टीको बृहत् असन्तुष्टि छ : झलनाथ खनाल



झापा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको बृहत् असन्तुष्टि रहेको बताएका छन् । बुधबार झापामा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर गरे ।

उनले देशले नयाँ कोर्षको माग गरिरहेको बताए । उनले देशका आमजनता र राष्ट्रका मागहरूलाई सम्बोधन गर्ने किसिमको नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गरे । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले जनतालाई छुन नसकेको बताए । मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको भन्दै उनले उद्योगबाट आउने राजश्व १९९५ को भन्दा कम रहेको बताए ।

खनालले भने, ‘देशले नयाँ कोर्षको माग गरिरहेको छ । देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ । त्यो माग अहिले सर्वत्र व्याप्त छ । सरकारले जस्ता नीति र कार्यक्रम ल्याएको छ । यसले जनतालाई छोएको छैन । हाम्रा दुई जना मन्त्रीहरु हुनुहुन्छ, त्यो मन्त्रालयमा बजेट नै छैन के गर्नु ? हामी निमित्तमा सहभागी छौँ । तर यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो वृहत असन्तुष्टि छ ।’

पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा र देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरू विदेश पलायन भइरहेको बताए ।