बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको सरकारलाई ध्यानाकर्षण

बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको सरकारलाई ध्यानाकर्षण



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई ध्यानाकर्षण गरेका छन् ।

आजको बैठकमा प्रतिपक्षी दलहरु नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले समसामयिक र सुशासनका क्षेत्रमा प्रश्न उठाउँदै ती विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान लिएपछि सभामुख घिमिरेले ध्यानाकर्षण गराएका हुन् ।

१३ पुसमा दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएपछि विपक्षी दलहरुले ६ फागुनकै बैठकमा राजीनामा मागेका थिए । त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन बुझेपछि अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका थिए ।

तर अहिलेसम्म मन्त्रीले राजीनामा नदिएको भन्दै विपक्षी दलहरुले प्रश्न उठाएका छन् । बिहीबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर एमाले सांसद रघुजी पन्तले झण्डा हल्लाउँदै मन्त्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन गएको पहिलो पटक देखिएको बताए । ‘अख्तियारमा बयान दिइसकेको मन्त्री क्याबिनेटमा बस्छ ? उनले भने, ‘नैतिकता छ भने प्रधानमन्त्रीले जवाफ दिनुस् ।’

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासँगै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले राजीनामा दिनुपर्ने उनले बताए ।

बैठकमा शून्य समय सुरु गर्दा एमाले, रास्वपा र राप्रपा तीनवटै दलका सांसदहरु उठेर विरोध गरेपछि सभामुखले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।