क्यानडासँग नेपाल ए चार विकेटले पराजित

क्यानडासँग नेपाल ए चार विकेटले पराजित



काठमाडौं । तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा बिहीबार क्यानडा–११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको छ । जितसँगै भ्रमणकारी टोली क्यानडाले तीन खेलको शृङ्खला पनि २–१ ले आफ्नो पक्षमा पारेको छ ।

सिरिज जित्न नेपाल एले दिएको १८२ रनको लक्ष्य क्यानडाले निकोलस किर्तोनको अर्धशतकको मदतमा ३८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

क्यानडालाई जित दिलाउन निकोलस किर्टोनले ५८ रन बनाए । ओपनर आरोन जोन्सनले ४२ रन थपे । नवनित धलिवालले ३८, निखिल दत्तले १४, दिलप्रित बाज्वाले ११ र श्रीमन्था विजेरत्नेले १० रन बनाए ।

नेपालका साहब आलमले चार विकेट लिए भने शेर मल्ल र बसिर अहेमदले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको थियो ।

नेपालका ओपनर आशुतोष घिरैयाले सर्वाधिक २८ रन बनाए । यसअघि दोस्रो खेलका ओपनर मयन यादवको स्थानमा आज मौका पाएका आशुतोषले ४३ बलमा पाँच चौका प्रहार गरे । आशुतोषले पहिलो विकेटका लागि अर्जुन कुमालसँग ५४ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए ।

अर्जुनले ५३ बलमा दुई चौकासहित २७ रन थपे । यसबाहेक, बसिर अहमेदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २४ र प्रतिश जिसीले १९ रन जोडे । क्यानडाका डिलोन हाइलिजर, हर्ष थाकेर र निकोलस किर्टोनले समान दुई विकेट लिए ।

कलिम साना र कप्तान साद बिन जफरले एक–एक विकेट हात पारे । यसअघि शृंखलाको पहिलो खेल क्यानडा चार विकेटले विजयी हुँदा दोस्रो खेलमा नेपालले दुई विकेटको जित निकालेको थियो । नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेलेको यो पहिलो शृंखला हो ।