काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाई त्यहाँ रहेको सम्पूर्ण सार्वजनिक तथा सरकारी जग्गाको विवरण पठाउन निर्देशन दिएको छ । गृह मन्त्रालयले बुधबार पत्र पठाई यदि कसैले सार्वजनिक तथा सरकारी जग्गा मिचेको वा गलत प्रयोग गरेको भेटिएमा तत्काल कारबाही अघि बढाउन समेत निर्देशन दिएको छ ।
‘सार्वजनिक एवं सरकारी स्वामित्व रहेको ऐलानी, सन्धिसर्पन, गौचरन, घाट जस्ता जग्गाहरू कानूनविपरीत कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएका सार्वजनिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रुपमा दर्ता गरेको, दाखिल खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समयसम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उद्देश्य विपरीत निजी कायम गरी गराई दुरुपयोग गरेको पाइएमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न,’ मन्त्रालयले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्ता जग्गाहरू पूर्ववतः सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी आदिरूपमा कायम गर्ने प्रयोजनका लागि सोसम्बन्धी सत्यतथ्य सूचनासहितको विवरण संकलन गरी गृह मन्त्रालयमा पठाउन र त्यस्तो कार्य गर्ने उपर प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनका लागि सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको गृहले प्रस्ट पारेको छ ।



प्रतिक्रिया