चार करोडको लागतमा लोमान्थाङ खोलामा पुल निर्माण

चार करोडको लागतमा लोमान्थाङ खोलामा पुल निर्माण


ग्लोब नेपाल
54
Shares

म्याग्दी । कालीगण्डकी ‘करिडोर’ बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ ।

बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो । पुल निर्माण भएपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ । पुल रु चार करोड ६८ लाख दुई हजारको लागतमा निर्माण भएको हो । पुल निर्माण पूरा गरी हस्तान्तरण गरिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईँले बताए ।

इन्जिनियर चापागाईँका अनुसार २०२ किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडकमा लोमान्थाङ खोलासहित थप छवटा गाडी चल्ने सडक पुल निर्माण भएका छन् । बेनी-जोमसोम कोरला आयोजनाले पाँच वटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग रु ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता भएको छ ।

लोमान्थाङ गाउँपालिकाको लोमान्थाङसहित किम्लिङ, नाम्डोक र भर्माखोलाको पुल निर्माणका लागि मुक्तिनाथ-अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । बेनी-जोमसोम-कोरला सडक योजनामार्फत १३ वटा पक्की पुल र तीन वटा बेली ब्रिज निर्माण भएका छन् ।