पर्यटनमन्त्री किराती कमिसन र स्टन्टबाजीमा लिप्त छन् : सांसद खतिवडा

पर्यटनमन्त्री किराती कमिसन र स्टन्टबाजीमा लिप्त छन् : सांसद खतिवडा



काठमाडौं । प्रतिपक्षी दलले राजीनामा मागिरहेकै बेला गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री सुदन किराती कमिसन र स्टन्टबाजीमा लिप्त रहेको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठककमा बोल्दै उनले मन्त्री किराती नयाँ विमान किन्ने भन्दै १८ करोड कमिसनको खेलमा लागेको आरोप लगाए । उनले भने, ‘अब नेपाल एयरलाइन्सलाई कहाँ पुर्‍याउने हो ? कुन अवस्थामा पुर्‍याउने हो ? यो बारेमा सोच्नुपर्ने बेला भइसकेको छ ।’

नेपाल वायु सेवा निगमले गठन गरेको समितिले नै अहिले जहाज किन्न नसक्ने भनेको भन्दै सांसद खतिवडाले भने, ‘थ्री हन्ड्रेड जी भन्ने प्लेन ल्याइँदैछ जुन अहिले उत्पादनमा छैन । त्यो ल्याएर झण्डै १८ करोड कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएका छन् ।’

नेपाल एयरलाइन्स अहिले ४८ अर्ब रुपैयाँ घाटामा रहेको र चार वर्षदेखि ब्याज पनि तिर्न नसकेको उनले बताए । निगमका चार वटा जहाजमध्ये दुई वटा न्यारोबडी र दुईवटा वाइडबडी अहिले घाटामा चलिरहेको भन्दै सांसद खतिवडाले आन्तरिक उडानका लागि ८ अर्ब रुपैयाँमा किनिएका ६ वटा चिनियाँ जहाज लिलाम गर्दा अहिले ३८ करोडमा पनि बिक्री हुन गाह्रो भएको स्मरण गराए ।

सांसद खतिवडाले दुई तारे होटेललाई चार तारेको अनुमति दिने खेलमा किराती लागेको पनि जिकिर गरे । किरातीले कामको आधारमा नभई दामको आधारमा नियुक्ति गरेको उनको टिप्पणी छ । उनले भने, ‘वर्तमान पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारीहरुलाई करार र ज्यालादारीमा नियुक्त गरेर राखिएको छ । जसलाई हाजिर गरेर हिँडेपछि पुग्ने गरी नियुक्तिको व्यवस्था गरिएको छ ।’

मन्त्री किराती भने लोकरिझ्याइँका काम गरेर आफूले असाध्यै सुधार गर्न लागेको भान पार्न खोजेको सांसद खतिवडाले आरोप लगाए । ‘मन्त्रीज्यू एउटा झाडु र क्यामेरा लिएर मन्त्रालय प्रवेश गरेर फोटो खिचेर बाहिर ल्याउने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो ?’ सांसद खतिवडाले पर्यटनमन्त्री किरातीमाथि प्रश्न उठाए ।

सांसद खतिवडाले मन्त्री किरातीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गरेको विषयमा पनि प्रश्न उठाए ।

‘गौतम बुद्ध शान्तिका दूत, शान्तिका दूतको नामममा लक्करमा गोली राख्ने मान्छेलाई नियुक्त गरेपछि देशको हालत के होला सभामुख महोदय ?’ उनले प्रश्न गरे । ‘चाहे नेपाल एयरलाइन्समा भएको नियुक्ति होस्, चाहे नेपाल एयरलाइन्समा होस्, चाहे पशुपति विकास कोषमा होस्, चाहे लुम्बिनी विकास कोषमा होस् भएका नियुक्ति एकचोटी हेरियोस् ।’