काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताएका छन् ।
आइतबार कांग्रेसबाट नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूसँगको परिचयात्मक कार्यक्रममा नेता सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको नेतृत्वदायी दायित्व भएको बताए ।
उनले पार्टीहरूलाई राष्ट्रहितको बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताए । ‘अरु पार्टीको भन्दा कांग्रेसको अलि बढी दायित्व छ । शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्दै लिएर हिँड्ने नेतृत्वदायी दायित्व पनि कांग्रेसको काँधमा छ,’ उनले भने, ‘अन्य पार्टीहरूलाई राष्ट्रहितको पथप्रदर्शन गर्ने, बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा छ । त्यसैले हामीले सबैलाई मिलाएर सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु पनि छ ।’
उनले कांग्रेसले सबैसँग सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्न भूमिका खेल्नुपर्ने बताए ।
उनले कांग्रेसबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरूले अन्य पार्टीहरूसँग पनि सहकार्य गरेर जनताको स्वार्थ अनुकूल काम गर्नुपर्ने भन्दै सिंगो राष्ट्रलाई एकताबद्ध गरेर बलियो राष्ट्र निर्माण गर्नुपर्ने भन्दै त्यसका निम्ति पार्टीभित्र र बाहिर सबैसँग मिलेर काम गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया