घुससहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर

घुससहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर


ग्लोब नेपाल
945
Shares

काठमाडौं । घुस रकमसहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन घुस लिने सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका-५ का वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन्।

वडाध्यक्ष सबदुल मियाँलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। वडाध्यक्ष मियाँविरुद्ध विशेष अदालत काठमाडौँमा दायर भएको मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर गरेको प्रवक्ता कार्कीले बताए।

गत जेठ २३ गते विद्यालयको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन उनले घुस मागेका थिए। वडाध्यक्ष मियाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरी गत असार २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको थियो।