वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल आज लेबनानसँग भिड्दै

वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल आज लेबनानसँग भिड्दै


ग्लोब नेपाल
108
Shares

काठमाडौं । वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज लेबनानको सामना गर्दै छ । साउदी अरबको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा खेल राति पौने ११ बजे सुरु हुनेछ ।

नेपाल समूह चरणमा अपराजित रहँदै समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने लेबनान समूह ‘ए’को उपविजेता हो । पश्चिम एसियाली फुटबल महासंघले आयोजना गरेको प्रतियोगितामा पहिलो पटक सहभागी नेपाल उपाधि जित्ने लक्ष्यसहित मध्यपूर्व पुगेको हो।

समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० गोल अन्तरले पराजित गरेको नेपालले त्यसअघि इराकलाई ५-० र सिरियालाई ४-१ ले पराजित गरेको थियो । लेबनान समूह चरणको अन्तिम खेलमा जोर्डनसँग पराजित हुँदा त्यसअघि उसले आयोजक साउदी अरेबिया र गुमालाई भने पराजित गरेको थियो । समूह चरणका ३ खेलमा १३ गोल गर्दा १ गोल मात्र बेहोरेको नेपाल प्रतियोगिताकै सर्वाधिक गोलकर्ता टोली हो ।

३ खेलमा ८ गोल गरेकी सावित्रा भण्डारी प्रतियोगिताकै सर्वाधिक गोल गर्ने खेलाडी हुन् । सावित्राले आज १ गोल गरे उनी दक्षिण एसियाली महिला फुटबलरमध्ये सर्वाधिक गोलकर्ता बन्ने छिन् । अहिले भारतकी बालादेवी र सावित्राले ५२-५२ गोल गरेका छन् । फिफा महिला बरियतामा लेबनान नेपालभन्दा २९ स्थान तल छ । नेपाल बरियताको १ सय ५औं स्थानमा छ भने लेबनान १ सय ३४औं स्थानमा छ ।

आजै हुने पहिलो सेमिफाइनलमा राति पौने ८ बजे जोर्डन र प्यालेस्टाइनले प्रतिस्पर्धा गर्नेछन् । दुवै सेमिफाइनलको विजेताले बिहीबार उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।