समाचारप्रति निर्माण व्यवसायी महासंघको ध्यानाकर्षण

समाचारप्रति निर्माण व्यवसायी महासंघको ध्यानाकर्षण


ग्लोब नेपाल
12.9k
Shares

काठमाडौं । बुधबार प्रकाशित नागरिक दैनिकको पहिलो पृष्ठमा छापिएको समाचारप्रति नेपाल निर्माण व्यवसायीको ध्यानकर्षण भएको छ । महासंघका महासचिव रोशन दाहालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ‘कामचोर ठेकेदार पोस्न खरिद नियमावली संशोधन’ शीर्षकको समाचारप्रति महासंघको गम्भीर आपत्ति रहेको उल्लेख छ ।

निर्माणसम्बन्धी न्यूनतम ज्ञानको अभावमा लेखिएको उक्त एकतर्फी समाचारले पत्रकारिताको आधारभुत सिद्धान्त (कुनै पनि समाचार तथ्यपरक, सन्तुलित र विश्वसनीय हुनुपर्ने) को धज्जी समेत उडाएको मात्र छैन, निर्माण व्यवसायीहरूको मानमर्दन समेत गरेको विज्ञप्तिमा उल्लेख छ । पत्रिकामा प्रकाशित समाचारले पत्रकारिताको न्यूनतम नैतिकता, आचरण र आचार संहिताको गम्भीर र घोर उल्लंघन भएको महासंघको ठहर छ ।

पछिल्लो स्थितिमा बजेट अभाव, विना स्रोत सुनिश्चितता ठेक्का लगाउने सरकारी परिपाटी, अन्त्य, अव्यवाहरिक ऐन कानून, सरकारी समन्वयबीचको अभाव, निर्माण सामग्रीको अभाव, महंगी लगायतका व्यवसायीहरूका काबू बाहिरका परिस्थितिका कारण अधिकांश निर्माण परियोजनाहरू समयमै पूरा हुन नसकेको वास्तविक तथ्य घाम जत्तिकै छर्लङ्ग हुँदा समेत यी अवस्थाहरूलाई नजरअन्दाज गर्दै निर्माण व्यवसायीहरूको ‘मान, प्रतिष्ठा र इज्जतमा’ गम्भीर आघात पुग्ने गरी प्रकाशित उक्त समाचार प्रचलित कानून बमोजिम गाली बेइज्यती भएको महासंघको निष्कर्ष छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।