राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर गठबन्धन दायाँबायाँ हुँदैन : देउवा

राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर गठबन्धन दायाँबायाँ हुँदैन : देउवा



भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर सत्ता गठबन्धन दायाँबायाँ नहुने बताएका छन् । भरतपुर भ्रमण वर्षमा सहभागी हुन शुक्रवार चितवन पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले राष्ट्रियसभा अध्यक्ष पदको विषयलाई लिएर गठबन्धन केही नहुने बताएका हुन् ।

फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्र दुवैले उम्मेदवारी दिने बताइरहेका छन् । सोही विषयलाई लिएर सत्ता गठबन्धन फेरबदल हुने आशङ्का भइरहेका बेला देउवाले गठबन्धनमा त्यसले कुनै फरक नपार्ने दाबी गरेका हुन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीले गठबन्धनबारे गरेको प्रश्नमा देउवाले भने, ‘गठबन्धन केही पनि हुँदैन । कति भन्नु भनिसकेँ त मैले ?’ सभापति देउवाले गठबन्धन निरन्तर जाने र त्यसमा ढुक्क हुन आग्रह समेत गरे । ‘गठबन्धन निरन्तर जान्छ । ढुक्क भए हुन्छ’, देउवाको जवाफ छ ।

देउवाले राष्ट्रियसभा अध्यक्षबारे सरसल्लाह भैनसकेको भन्दै छलफल गरेर टुङ्गोमा पुग्ने बताए ।