प्रदेश मुख्यमन्त्रीहरू पनि नयाँ गठबन्धनबाट आलोपालोका आधारमा बनाइने

प्रदेश मुख्यमन्त्रीहरू पनि नयाँ गठबन्धनबाट आलोपालोका आधारमा बनाइने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नयाँ गठबन्धनबाट संघीय सरकार गठन गर्ने समझदारी बनेसँगै प्रदेशहरूमा पनि नयाँ गठबन्धन दलहरूबाटै मुख्यमन्त्री बनाउने दलहरुबीच सहमति भएको छ ।

सत्ताघटक नेकपा माओवादी केन्द्रको बालुवाटारमा सोमबार बसेको पदाधिकारी बैठकमा नयाँ गठबन्धनअनुसार संघीय सरकार र प्रदेश सरकार गठन गर्ने ब्रिफिङ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको स्रोतले जानकारी दिएको छ ।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादीका सचिव देवेन्द्र पौडेलले नयाँ शिराबाट अघि बढ्ने निर्णय भएको जानकारी दिएका छन । उनले भने, ‘नयाँ शिराबाट मन्त्रिपरिषद पुनर्गठन गर्छौं। राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष पनि नयाँ शिराबाट छलफल गरी अघि बढाउँछौं। त्यति मात्र होइन, प्रदेशहरूमा पनि आलोपालोका आधारमा हामी अगाडि बढाउँछौं ।

त्यसका लागि बालुवाटारमै माओवादी, एमाले र रास्वपासहितको बैठक बस्दैछ ।’ नेपाली कांग्रेससँगको गठबन्धन टुटेसँगै प्रदेशहरूमा मुख्यमन्त्री फेरिने भएका छन् ।

कोशीमा कांग्रेसका केदार कार्की, मधेसमा जसपाका सरोजकुमार यादव, बागमतीमा माओवादीका शालिकराम जम्कट्टेल, गण्डकीमा कांग्रेस सुरेन्द्रराज पाण्डे, कर्णालीमा माओवादीका राजकुमार शर्मा, लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी, सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री रहेका छन ।