खानामा माछा नदिँदा पर्सामा बिहे बहिष्कार गर्दै जन्तीसहित बेहुला फिर्ता

खानामा माछा नदिँदा पर्सामा बिहे बहिष्कार गर्दै जन्तीसहित बेहुला फिर्ता



पर्सा । खानाको बिषयलाई लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्ता भएको घटना भारतको बिभिन्न प्रान्तमा हुनेगरेको समाचार बिगतमा सुन्न र पढ्न पाइन्थ्यो ।

यस्तै घटना मधेश प्रदेशको एक पालिकामा भएको छ, जहाँ जन्तीलाई खानामा माछा नदिँदा जन्ती र बेहुलीपक्षबीच कुटपिट भएर अन्तमा बिहे बहिष्कार गरी जन्ती फिर्ता गएको घटना प्रकाशमा आएको छ ।

पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका ४ को मधवल गाउँमा सखुवा प्रसौनी गाउँपालिकाको महुवनबाट सोमबार राती आएको जन्तिमा बेहुला पक्ष र बेहुली पक्षबीच कुटाकुट हुँदा बेहुली नलिईकन बेहुलासहितको जन्ती फिर्ता गएको छ ।

जन्तीमा आएकाहरुले खानामा माछा नपाएको कारण भनाभन हुँदै कुटापिटमा परिणत भएको थियो । कुटापीटमा बेहुलाका बुबा घाइते  भएपछि बिहेनै नगरी जन्ती खालीहात फिर्ता हुने अवस्था आएको थियो ।

कुटपीट भएपछि जन्तीहरु सबैजना भागेका थिए । जन्ती भागेको देखेर बेहुली पक्षका मानिसहरुले बेहुलालाई घरमै थुनेर राखेका थिए । घटनाको खबर पाएर तत्काल इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख इन्स्पेक्टर मोहन विक्रम केसीको कमाण्डमा गएको टोलीले बेहुलाको उद्दार गरी प्रहरी कार्यालयमा सुरक्षित राखेका थिए ।

इलाका प्रहरी कार्यालय पोखरीयामा हिजो मंगलबार दुईपक्षबीच छलफल हुँदा बेहुलीले बिहे गर्न इन्कार गरेपछि जन्ती सहित बेहुला आफ्नो घर फर्केको इन्स्पेक्टर केसीले बताएका छन् । 

स्थानिय सञ्चारकर्मी संजीव मिश्रका अनुसार एकजना जनप्रतिनिधिले घटना मिलाएर बिहे गराइदिने दिनभरि प्रयास गरेपनि असफल भएकाे हाे । केटी पक्षधरले दाइजोको १२ लाख रकम फिर्ता लिने अडान राखेका छन् भने केटाको पक्षले बिहेमा खर्च भएको भन्दै पैसा फिर्ता नदिने दाउमा रहेका छन् । 

पर्सा प्रहरी प्रवक्ता डिएससी कुमार बिक्रम थापाले घटनाको पुष्टि गरेका छन् । बेहुला र बेहुली पक्षबिच कुटपिट उग्र भएपछि इन्स्पेक्टर केसीको पहलमा साम्य भएको प्रवक्ता थापाले जानकारी दिएका छन् । पछिल्लो समय मधेश प्रदेशमा छोरीको बिहेमा जन्ती आउँदा प्रायः मानिसले खानामा माछा दिने गर्दछन् । कतिपय दुईपक्षबीच खानाको बारेमा के ख्वाउने भनेर पहिल्यै सहमति हुने गर्दछ । 

यसरी बिहेमा माछा न ख्वाउँदा कुटपिट सम्म हुने र बिहेनै बहिष्कार गरी जन्ती फिर्ता हुनु आफैमा अप्रिय घटना भएकाले गाउँका अगुवाहरु पुनः कुनै गाउँमा यस्ता दुःखद घटना नहोस भनेर चनाखो हुनु अथवा चेतना फैलाउनु जरुरी देखिन्छ ।