प्रधानमन्त्रीले गर्नुभएको बेइमानीको ढाकछोप हुँदैन: महामन्त्री थापा

प्रधानमन्त्रीले गर्नुभएको बेइमानीको ढाकछोप हुँदैन: महामन्त्री थापा


ग्लोब नेपाल
513
Shares

काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत आफूहरुलाई गठबन्धनको काँध फेर्ने सुविधा नभएको दाबी गरेका छन् ।

आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । महामन्त्री थापाले आफ्नो अनुकूलताका लागि गठबन्धनको काँध फेर्ने सुविधा नभएको दाबी गरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले कपोकल्पित कुरा गरेर गठबन्धन परिवर्तन गरेको उनले बताए ।

उनले प्रधानमन्त्रीले जति ढाकछोप गरेपनि बेइमानीको ढाकछोप नहुने पनि बताएका छन । उनले यो सरकार लामो समय जान्छ भन्ने कुराको कसैलाई भरोसा नभएको बताएका छन । उनले भने, ‘निर्वाचन अगाडि गठबन्धन गर्नु हुँदैन थियो तर ग-यौँ । गठबन्धन गरिसके पछाडि यो गठबन्धनभित्र आबद्ध भएका प्रत्येक दलका सांसदहरु चाहे पुष्पकमल दाहाल हुनुहोस् । चाहे म हुँ ।

हामीले एक, अर्काको निर्वाचन चिन्हमा अर्को मतदाताको मत प्राप्त गरेर आएका छौँ । त्यसैले मलाई इच्छा लाग्यो, मेरो सहजता, मेरो अनुकूलताका लागि भनेर काँध फेर्ने सुविधा हामीसँग पनि थिएन । उहाँसँग पनि थिएन ।

तर यी सबै कुराहरुको बेवास्ता गरेर जसरी यो निर्णयमा उहाँ पुग्नुभयो र जे जति कपोकल्पित कुराहरु प्रस्तुत गरेर यसलाई ढाकछोप गर्न खोजिराख्नु भएको छ, जति ढाकछोप गरेपनि बेइमानी ढाकछोप हुँदैन ।

उहाँले शिर छोप्न खोज्नुभयो भने पैताला देखिन्छ । पैताला छोप्न खोज्नुभयो भने शिर देखिन्छ । प्रतिपक्ष दलमा बसिराख्नुभएको केपी शर्मा ओली स्वयम् आफूलाई पनि पुष्पकमल दाहालले अगाडी उभिएर बोलिराख्दाखेरी कुनैपनि बेला यसले धोका दिन सक्छ भन्ने उहाँको मनमा खेलिरहेको छ भन्ने मलाई महसुस भयो त्यहाँको हाउभाउ हेर्दाखेरी ।

यो सरकार लामो जान्छ भन्नेकुरा सरकारमा बसेका कसैलाई पनि भरोसा छैन । अनुसन्धान भइरहेको बेलामा अनुसन्धान प्रभावित हुनसक्ने हुँदा अनुसन्धान भइरहेका कुनैपनि व्यक्ति मन्त्रीको रुपमा रहनु हुँदैन । जबसम्म ती मन्त्रीका रुपमा रहन्छन् तबसम्म संसद् चल्दैन भनेर यो संसद् अवरुद्ध भएको हो । आज संसद् खुल्यो ।

त्यो प्रश्न यो संसदभित्र उठेको हो । आसन फेरियो, भाषण फेरियो तर त्यो प्रश्न यहाँ जस्ताको तस्तै छ । त्यो प्रश्नको जवाफ नखोजीकन संसद् यत्तिकै अगाडी बढ्न सक्ला र ?’