बैंकको ऋण तिर्दिन भन्नेलाई सरकारले नियन्त्रणमा लिन्छ : अर्थमन्त्री पुन

बैंकको ऋण तिर्दिन भन्नेलाई सरकारले नियन्त्रणमा लिन्छ : अर्थमन्त्री पुन



काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न गएको टोलीसँग कुरा गर्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने बताए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ऋण नतिर्ने भनेर भड्काउँदै हिँड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी उनले दिए ।

सरकारले नागरिकको व्यक्तिगत, पारिवारिक र सम्पत्तिको सुरक्षा दिने प्रतिबद्धता उनले जनाए ।

मन्त्री पुनले निजी क्षेत्रका व्यवसायीलाई गल्ती नगरी काम गर्न अनावश्यक दुःख नदिन नियामक निकायलाई आग्रह गरे । फरक प्रसंगमा उनले सत्तारुढ गठबन्धनमा भएको परिवर्तनका कारण पूर्वनिर्धारित लगानी सम्मेलन प्रभावित नहुनेसमेत स्पष्ट गरे ।