बहुमत पुर्‍याउन विवादित मान्छेसँग गठबन्धन गर्नु परेको छ: उपाध्यक्ष भुसाल

बहुमत पुर्‍याउन विवादित मान्छेसँग गठबन्धन गर्नु परेको छ: उपाध्यक्ष भुसाल


ग्लोब नेपाल
270
Shares

काठमाडौं । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान गठबन्धनमा विवादित मान्छे पनि रहेको बताएकी छन । आज शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले यस्तो बताएकी हुन् । उनले वर्तमान सत्ता गठबन्धन शुद्ध नभएको पनि बताएकी छन् ।

उनले बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको दाबी गरेकी छन । उनले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको पनि बताएकी छन् ।

उनले भनिन्, ‘संयोगले एउटा नयाँ सहमति बन्यो र गठबन्धन भयो। त्यो पनि शुद्ध त छैन, अब जीवन, व्यवहारले पुष्टि गर्छ। केही मान्छे त विवादित छन् नि ! तर पनि हाम्रो संख्या पुग्दैन। गठबन्धन गरेर बहुमत पुर्‍याउनुपर्छ, यो बाध्यता हुन्छ।

तर त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ ।’ उनले सत्ता गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनेर राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै सो गठबन्धन यहीँका दल र नेताहरुले बनाएका बताएकी छन ।

उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने संकल्पसहित गठबन्धन बनाएको उल्लेख गर्दै त्यो पूरा नभए यही गठबन्धनमा बसिरहने कुरा नहुने बताएकी छन ।