काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को सात महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ । यस्तै आयात २.३ प्रतिशत, निर्यात ७.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.६ प्रतिशतले र अमेरिकी डलरमा १९.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.२९७ अर्ब ७२ करोडले बचतमा रहेको बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चिति रु.१८४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.६८६ अर्ब ७५ करोड र राजस्व परिचालन रु.५६७ अर्ब ४० करोड रहेको छ । बैंकका अनुसार विस्तृत मुद्राप्रदाय ७.० प्रतिशतले बढ्नुका साथै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.७ प्रतिशतले बढेको छ ।
रेमिट्यान्स साढे २१ प्रतिशतले बढ्यो, सात महिनामा साढे ८ खर्ब
चालु आर्थिक वर्षमा रेमिट्यान्स मार्फत् ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २१.१६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको माघसम्म रेमिट्यान्स २७.१ प्रतिशतले बढेको थियो ।
‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ । गत वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५ सय ४० रहेको छ ।
गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार ७ सय ६७ र १ लाख ६७ हजार ७ सय ८ रहेको थियो ।
पूर्णपाठ :
प्रतिक्रिया