नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने माओवादीको निर्णय

नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार उठाउने निर्णय गरेको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए ।

०७८ मा राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सांसद दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।

एमाले, माओवादी, रास्वपा र जसपालगायतको सत्ता गठबन्धन हुँदा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने सहमति भएको थियो । उपाध्यषमा एमालेको उम्मेदवार बन्ने सहमति छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै उक्त पद रिक्त थियो ।

विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा सांसद युवराज शर्मालाई उठाउने निर्णय गरेको छ ।

राष्ट्रिय सभाको निर्वाचन आउँदो फागुन २९ गते हुँदैछ ।