दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका महाकाली नगरपालिका– १ का उमेशसिंह कुँवर प्रहरीको मुद्दा फाँटमा सोधपुछको क्रममा भाग्न खोजेका हुन् ।
हातमा हतकडी लगाएकै अवस्थामा भाग्न खोज्दा प्रहरी जवान सुहान चौधरीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयको पछाडिबाट हाम फालेर भाग्ने क्रममा चौधरीले उनलाई रोक्न खोजेका थिए । हतकडीसहित हाम फालेका कुँवरसँगै हुत्तिएर चौधरी भिरबाट लडे । झन्डै सय मिटर तल खसेपछि प्रहरी जवानको ज्यान गएको छ ।
टाउकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा पुर्याउँदा मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए ।
शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।
हाम फालेर भागेका कुँवर महाकाली तरेर भारततर्फ लागे। प्रहरी पनि सँगै नदी तरेर भारतपट्टि पुगेर नियन्त्रणमा लिइएको इन्स्पेक्टर सिंहले बताए । भारतबाट गोरखा रेजिमेन्टले पनि सहयोग गर्यो । गत माघ ७ गते ड्युटीमा खटिएका दुईजना प्रहरीमाथि चक्कु प्रहार गरेका कुवरलाई फागुन २२ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कुँवरविरुद्ध प्रहरीले अपहरण तथा बन्दकी, ज्यान मार्ने उद्योग र जबर्जस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया