प्रधानमन्त्रीलाई भोट हाल्नुस्, नत्र कांग्रेसको अल्पमतको सरकार बन्छ : ओली

प्रधानमन्त्रीलाई भोट हाल्नुस्, नत्र कांग्रेसको अल्पमतको सरकार बन्छ : ओली



काठमाडौं । सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मंगलबार बसेको संसदीय दल बैठकमा बोल्दै संसदीय दल नेतासमेत रहेका ओलीले दिल खोलेर बुधबार प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरूलाई आग्रह गरेका छन् ।

‘हामी एकदम खुलेर, दिल खोलेर, भोलि विश्वासको मत दिन्छौं,’ अध्यक्ष ओलीले भने, ‘विश्वासको मतमा हामी प्रतिनिधि सभाका सबै सदस्यहरू उपस्थित हुनेछौं । सम्पूर्णले प्रधानमन्त्री प्रचण्डमाथि यस प्रतिनिधि सभाको विश्वास छ भन्ने पक्षमा मतदान गर्नेछौं । यो पार्टीका तर्फबाट कमरेडहरूलाई आदेश पनि हो। यसबारे ह्विप प्रमुख सचेतकले जारी गर्नुहुनेछ ।’

ओलीले भने, ‘यतिबेलाको अर्को कुनै अप्सन छैन, दुइटा मात्रै अप्सन हो । कि त प्रचण्डको नेतृत्वमा अहिले यो समीकरण कायम रहन्छ र जित्छ यसले । कि त संविधानको धारा ७६ को उपधारा ३ अनुसार नेपाली कांग्रेसको अल्पमतको सरकार बन्छ भोलि । दुईमध्ये एउटा कुरा हुन्छ । अल्पमतको सरकार बन्नेजस्तो देशलाई दुर्घटनामा लाने काम हुन दिनु हुँदैन ।’

ओलीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई जनताले देख्ने गरी काम गर्न निर्देशन दिएका छन् । “म मन्त्रीज्यूहरूलाई जनताले देख्ने गरी, अनुभव गर्ने गरी सकारात्मक काम गर्न आग्रह गर्दछु । अहिलेका चुनौतीको सामना गर्ने, अहिलेको परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न आग्रह गर्छु,” उनले भने ।

उनले जे गरे पनि विरोध गर्नेहरूको कुरामा ध्यान नदिन अनुरोध गरे । “जे गरे पनि विरोध गर्ने । जसो गरे पनि विरोध गर्ने । ती विरोध गरिरहन्छन् । हामी प्रतिपक्षमा हुँदा विरोध गर्न खोजे,” उनले भने ।

ओलीले झुटा आरोप र लाञ्छनाको क्रियाकलापमा सहभागी नहुने बताए । उनले भ्रष्ट क्रियाकलप नगर्न मन्त्रीहरूलाई निर्देशन दिए । “हाम्रा मन्त्रीहरूले पनि भ्रष्ट क्रियाकलाप कुनै हालतमा गर्नुहुँदैन । कसैले गर्छ भने सहँदैनौँ,” ओलीले भने ।

उनले देश भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउनुपर्ने बताए ।