काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा मतदान गर्न ह्वीप जारी गरेकी छन् । उनले बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा चार जना सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिएकी छन् ।
‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ ।
सरकारमा जाने/नजाने विषयमा श्रीमान् श्रीमतीबीच विवाद भइरहेका बेला अध्यक्ष श्रेष्ठले ह्वीप जारी गरेकी हुन् । उनका श्रीमान् रेशम चौधरीले संघ सरकारमा नजाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने अडानमा छन् भने रञ्जिता एमाले-माओवादी गठबन्धनमा जाने पक्षा छिन् । जसका कारण उनीहरूबीच चर्को मतभेद हुँदै आएको छ ।
निर्वाचन आयोगले अध्यक्ष रेशम चौधरीलाई अयोग्य ठहर गर्दै पुरानै कमिटी व्युँताएको थियो ।


प्रतिक्रिया