राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे पदभार ग्रहण

राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे पदभार ग्रहण



काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पदभार सम्हालेका छन् । अध्यक्षमा निर्वाचित भएलगत्तै शपथग्रहणपछि पदभार ग्रहण गरेका हुन् ।

माओवादीको तर्फबाट उम्मेदवार बनेका दाहाललाई सत्ता गठबन्धनको साथ थियो । उनले कांग्रेसका युवराज शर्मालाई पराजित गरेका हुन् । दाहालले ३९ मत ल्याएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत ल्याएका थिए ।

शीतल निवासमा एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथलगत्तै राष्ट्रियसभा अध्यक्षको पदभार सम्हाल्नुअघि उनले सहिद स्मारक लैनचौर पुगेर माल्यार्पण गरेका थिए ।

पदभारका क्रममा उनले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ४० मा भएको व्यवस्थाअनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गरेका छन् ।