प्रदेश सरकार जोगाउन कांग्रेसको रणनीतिक छलफल

प्रदेश सरकार जोगाउन कांग्रेसको रणनीतिक छलफल



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकार जोगाउन कसरत गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा मंगलबार बसेको सांसद रहेका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलको नेताको बैठकले जोगिन सक्ने प्रदेशमा सरकार जोगाउने निर्णय गरेको हो ।

बैठकमा वाग्मती, गण्डकी र सुदूरपश्चिम सरकार कसरी बचाउन सकिन्छ भनेर छलफल भएको थियो । मिहिनेत गर्न सके र रणनीतिक रूपमा लाग्न सके सरकार बचाउन सकिने निष्कर्षमा पार्टी पुगेको छ ।

सुदूरपश्चिम र गण्डकीमा सरकार बनाउन सकिने सम्भावना रहेको त्यहाँका मुख्यमन्त्रीले सभापति देउवालाई जानकारी गराएका छन् । ‘त्यहाँ अहिलेकै मुख्यमन्त्री रहिरहन सकिने सम्भावनाको बारेमा कुरा भएको छ,’ बागमती प्रदेशका सभापति इन्द्र बानियाँले भने ।

सुदरपश्चिममा कांग्रेसका कमलबहादुर शाह र गण्डकीमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् ।

बागमतीमा केन्द्रको गठबन्धनको बहुमत नपुग्ने हुँदा कांग्रेसले सरकार बनाउन सक्ने सम्भावना समेत रहेको छ । प्रदेशमा सरकार बनाउन विचार मिल्नेसँग सहकार्य गर्न सभापति देउवाले निर्देशन दिएका छन् ।

आजको बैठकमा कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी, पार्टीका प्रदेश सभापति र संसदीय दलको नेताहरु सहभागी थिए ।