काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए । “यावत् आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु,” प्रधानमन्त्री दाहालले भने, “अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट, उपराष्ट्रपति जनता समाजवादी पार्टीबाट, सभामुख नेकपा (एमाले)को पृष्ठभूमिबाट, राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रको पृष्ठभूमिबाट, उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट, सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ ।”
प्रधानमन्त्री प्रचण्डले संविधानको भावनाविपरीतका थरीथरीका विचलन रोक्नका लागि आफूलाई विश्वासको मत प्रदान गर्न संसद्सँग आग्रह गरेका छन् । उनले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सृजना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन सरकारले विश्वासको मत पाउन जरुरी रहेको स्पष्ट पारे ।
“पछिल्ला सबै आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्ताप्रति गौरवबोध गर्न मलाई संसद्को समर्थन चाहिएको छ,” प्रधानमन्त्री दाहालले भने, “म सम्मानित संसद्लाई विश्वास दिलाउँछु हजारौँ नयाँ ‘स्टार्टअप’ र उद्यमशीलता केही महिनामै सुरु हुनेछन् । आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ ।”
सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आस्था पुनः स्थापित गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइने बताए । प्रधानमन्त्री दाहालले आजको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिनुहुने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डले आरोप र प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन् । “सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री दाहालले भने, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद् उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ ।”
संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री दाहालले कांग्रेसले कुनै बेला संसद्मा उभिएर राजनेता घोषणा गरेको स्मरण गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् । उनले अर्थतन्त्र सुधारका लागि आफू सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकांश सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पारे ।
“चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु दुई खर्ब ९७ अर्ब ७२ करोडले शोधनान्तर बचत छ,” प्रधानमन्त्री दाहालले भने, “विदेशी विनिमय सञ्चिति १९ दशमलव नौ प्रतिशतले वृद्धि भई झन्डै रु १८ खर्ब ४५ अर्ब बराबर पुगेको छ ।”
व्यापार घाटा एक दशमलव आठ प्रतिशतले घटेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फीति पाँच दशमलव एक प्रतिशतमा सीमित गरिएको बताए । उनले कर्जा प्रवाह चार दशमलव सात प्रतिशतले बढेको उल्लेख गरे ।
“विद्यमान आर्थिक अवस्थालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन,” प्रधानमन्त्री दाहालले भने, “पूँजीगत खर्च पनि अपेक्षाअनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनालाई थप द्रुतता दिने, पूँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने छ ।”
उनले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सृजना गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे ।
बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूका आधार ब्याजदर एकल अङ्कमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताउँदै प्रधानमन्त्री दाहालले भने, “व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढेको छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।”


प्रतिक्रिया