काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्वादमा आउन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै पछिल्लो तीन वर्ष आफूले पटक–पटक सम्वाद गरौं भन्दा कांग्रेसले नमानेको उनले सुनाए । उनले भने, ‘वर्णाश्रम व्यवस्थामा के चल्दैन भनेको सुनेको थिएँ, कुरा चल्दैन भनेको चाहिँ नेपाली कांग्रेसबाट सुनियो । एमालेसँग कुरा चल्दैन ।’
उनले अगाडि भने, ‘तीन तीन वर्षसम्म, पुराना मित्र हौ हामी । यो देशका समस्याबारे कुरा गरौं न भन्दा कुरे चल्दैन ।’
संसदमा कुनै पनि दलको बहुमत नभएको र कांग्रेसको केही सिट बढी ल्याए पनि पपुलर भोटमा एमाले अगाडि रहेको भन्दै उनले भने, ‘यो त हुनै थियो ।’
कांग्रेस सभापति शेरबहादुर देउवा हिजो सत्तापक्षमा रहेको र आज आफू रहेको भन्दै उनले भने, ‘म भन्न चाहन्छु, शेरबहादुरजीलाई । बसौं, कुरा गरौं न । प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने हुँदैन ।’
देशलाई आर्थिक उन्नतिमा लैजानुपर्ने भन्दै उनले सबै राजनीतिक दल मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्ने बताए । अघिल्लो वर्ष विश्वासको मत दिन हुने यस वर्ष दिन नहुने भन्ने हुँदैन भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन कांग्रेससँग आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत माग्ने प्रस्तावको समर्थन गर्दै उनले प्रचण्ड सरकारले देश र जनताका लागि काम गर्ने भएकालेृ विश्वासको मत दिन अन्य दलका सांसदहरुलाई आग्रह गरे ।
ओलीले प्रधानमन्त्री आलोपालो गर्ने बारे गठबन्धनभित्र कुनै सम्झौता नभएको प्रष्ट पारेका छन् । उनले आफूलाई प्रधानमन्त्री बन्ने इच्छासमेत नभएको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीको कार्यकाल बाँडेबाडका चर्चाहरू अखबारमा देखेँ । यस्तो चर्चाले यो सरकार परिवर्तन किन गरेको भन्ने प्रश्नको गरिमा घटाएको छ । यो गलत कुरा हो । बाहिर आएजस्तो १३/१३ वर्ष, वा १५/१५ वर्षको कसैले गरेको छैन । प्रधानमन्त्री हुनकै लागि यो गठबन्धन बनेको होइन । मलाई इच्छा छैन प्रधानमन्त्री बन्ने । मेरो नाम पनि जोडिएको छ क्यार ।’


प्रतिक्रिया