विश्वप्रकाशको प्रश्न : कांग्रेस र एमाले मिले भने राजनेताको गद्दीको हालत के हुन्छ ?

विश्वप्रकाशको प्रश्न : कांग्रेस र एमाले मिले भने राजनेताको गद्दीको हालत के हुन्छ ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे सम्बोधन गर्दै उनले आफूहरूले अवस्था बदल्लौ भन्दा प्रचण्डले गठबन्धन बदलेको बताए ।

उनले भने- पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ?

शर्माले कांग्रेसबारे फिँजाइएको झुठको अन्त्य गर्नुपर्ने बताएका छन् । उनले केही दिनअघिसम्म देशमा केही भएको छैन र अब फेरि राम्रै छ भन्ने राजनीतिक दल र नेताबाट कांग्रेसबारे फिँजाइएको झुठको अब अन्त्य गर्नुपर्ने बताए ।

कांग्रेस महामन्त्री तथा सांसद शर्माले निर्वाचनका बेला जनतासँग गरेको बाचा तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

निर्वाचनका बेला पाँच वर्ष कांग्रेससहितको गठबन्धनले सरकार बनाएर देश र जनताका लागि काम गर्ने बताइए पनि प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोडेर कांग्रेसबाहेक र एमालेसहितको गठबन्धन बनाएर सत्ता समीकरण परिवर्तन गरिएको छ ।

जनतालाई दिएको विश्वास तोडेर प्रधानमन्त्री प्रचण्डले दलबीच मन्त्रिपरिषद् पुनर्गठन गरेर विश्वासको मत पाए पनि जनताको विश्वास जित्न नसक्ने भन्दै शर्माले जनताको विश्वास जित्नुपर्ने बताए ।