सरकारलाई विश्वासको मत दिन्छौं : अध्यक्ष रन्जिता श्रेष्ठ

सरकारलाई विश्वासको मत दिन्छौं : अध्यक्ष रन्जिता श्रेष्ठ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा बोल्दै नाउपाका अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताएकी हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नदिने भन्ने विषयमा नाउपामा चर्को विवाद छ । नाउपाका संरक्षक रेशम चौधरी सरकारलाई विश्वासको मत नदिने पक्षमा छन् । विवादकाबीच उनीहरुले बेग्लाबेग्लै ह्विप समेत जारी गरेका थिए ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत छ भनि पेस गर्नुभएको प्रस्तावमा नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको जानकारी गराउन चाहन्छु,’ उनले भनिन् ।

उनले एकीकृत समाजवादीको भनाइलाई खण्डन गर्दै संसदमा साना दलको पनि भूमिका महत्त्वपूर्ण हुने बताइन् ।

‘म भन्दा अगाडि बोल्नुभएको माननीय राजेन्द्रजीको कुरालाई गहन रूपमा सुने, बारम्बार उहाँले ‘सानो पार्टी’ ‘सानो पार्टी’ भन्दा मलाई मैले कक्षा ८ मा एउटा परीक्षा दिएको याद आयो । परीक्षा दिँदा लामा प्रश्न र छोटा प्रश्नहरू थिए। मैले छोटा प्रश्नका उत्तरहरू छाडेर लामा प्रश्नका मात्रै उत्तर दिएर फर्किएकी थिएँ। रिजल्टको दिन मेरो पास मार्क पनि आएन,’ उनले भनिन् ।