रूसी सेनामा कार्यरत थप ७ नेपालीको मृत्यु

रूसी सेनामा कार्यरत थप ७ नेपालीको मृत्यु



काठमाडौं । परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु भएको जानकारी दिएकाे छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत सात नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

यसअघि सरकारले १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो । त्यसमा थप सात जनाको मृत्यु भएको पुष्टि भएसँगै मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ ।

बिहीबार परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा धादिङका पूर्णबहादुर गुरूङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको उल्लेख छ ।

रूसी सेनामा गएका नेपाली नागरिकलाई नेपाल फिर्ता गराउन सरकारले प्राथमिकतामा राखेर कूटनीतिक प्रयास गरिरहेको जनाएको छ ।

अहिले ज्यान गुमाएहरूको परिवारलाई रूसी सरकारबाट राहत उपलब्ध गराउन र घाइतेको उपचार गर्न, नेपालीलाई फिर्ता पठाउन रूसी सरकारलाई अनुरोध गरेको पनि मन्त्रालयले जनाएको छ ।