कोशी प्रदेशमा एमाले ‘साइलेन्ट’ बस्ने

कोशी प्रदेशमा एमाले ‘साइलेन्ट’ बस्ने



काठमाडौं । संघीय सरकारमा गठबन्धन फेरिएसँगै प्रदेश सरकार परिवर्तनको दौडधुप चलिरहेको छ । तर, कोशी प्रदेश भने यो दौडधुपबाट अलग देखिएको छ । सबैभन्दा ठूलो दल नेकपा एमाले तत्काल ‘साइलेन्ट’ बस्ने निर्णयसँगै कोशी प्रदेश सरकार फेरिने हल्लाबाट टाढा रहेको हो ।

एमाले संसदीय दलका उपनेता राम रानामगरका अनुसार कोशी प्रदेश सभामा गठबन्धनको लहरो तान्दा कुन पहरो हल्लिने हो थाहा छैन । त्यसैले एमाले तत्काल ‘साइलेन्ट’ बस्छ । ‘कोशी प्रदेश गठबन्धन कुन दलको भागमा पर्छ त्यो अहिलेसम्म थाहा छैन’ उपनेता रानामगरले भने, ‘कसको भागमा पर्ने टुंगो नभएसम्म अहिले नै हल्ला गरेर कसैलाई फाइदा पुग्दैन ।’

कुन दलले नेतृत्व लिने भनेर टुंगो लागेपछि मात्र प्रकृया अगाडि बढ्ने उपनेता रानामगरले बताए । कानुनी जटिलता पनि भएकाले तत्काल सरकार परिवर्तनको सम्भावना आफूले नदेखेको उनको भनाइ थियो ।

कोशीको प्रदेश प्रमुख हटाउन समेत सरकारले आँट गरेन नि भन्ने ग्लोब नेपालको जिज्ञासामा उपप्रमुख रानामगरले भने, ‘संघीय सरकारले राख्ने र हटाउने भएकाले यसमा प्रदेशसभाको कुनै भूमिका हुँदैन ।’ प्रदेश प्रमुखका लागि नयाँ कानुनको व्यवस्था गर्न उनले माग गरे ।

प्रदेश प्रमुखलाई ठाडै हटाउनुभन्दा राजीनामा दिने समय दिनुपर्ने कानुनमा व्यवस्था गर्न उनले माग गरे । प्रदेश प्रमुखलाई ठाडै हटाउँदा मानमर्दन हुने उनको भनाइ थियो ।