सीआईबी प्रमुख बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी

सीआईबी प्रमुख बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी


ग्लोब नेपाल
216
Shares

काठमाडौं । सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी थालेको छ । सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरीएको गृह मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।

उनलाई ब्यूरोबाट हटाउने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गृह मन्त्रालयको रहेको स्रोतले जानकारी दिएको छ । बज्राचार्य एक वर्षभन्दा अगाडिदेखि सीआईबीको प्रमुख छिन् ।

आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ ।

ब्यूरोले सुनकाण्डका आरोपी जीवन चलाउनेलाई कार्यालयमा हाजिर गराएर पनि कागज मात्र गराएर छाडेको आयोगले फेला पारेको छ । कतिपय सरकारी कर्मचारी र पूर्वसभामुख कृष्णबहादुर महरा लगायतलाई जोगाएको आरोप पनि सीआईबीमाथि रहेको छ ।