प्रधानमन्त्री दाहालले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री दाहालले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

प्रधानमन्त्री दाहालले शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

आज बिहान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका थिए ।प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले, कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औंल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन उपप्रधान एवं गृहमन्त्रीलाई निर्देशन दिए ।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेका छन् । आयोगले बिहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि देखाएको थियो । यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी भएको छ ।

सुन तस्करीसम्बन्धी अनुसन्धानमा गम्भीर त्रुटि देखिएको भन्दै आयोगले बज्राचार्यलाई कारबाहीको सिफारिस गरेको छ ।