व्यवस्था बलियो बनाउन कांग्रेस र एमाले मिल्नुपर्छ : बद्री पाण्डे

व्यवस्था बलियो बनाउन कांग्रेस र एमाले मिल्नुपर्छ : बद्री पाण्डे



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद बद्री पाण्डेले कांग्रेस र एमाले नयाँ सरकार बनाउने कोणबाट नभई व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन एक हुनुपर्ने बताएका छन् ।

आइतबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सहमहामन्त्री पाण्डेले कांग्रेस र एमाले वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने कोणबाट नभई देशमा आएका संकटको समाधानका लागि मिल्नुपर्ने बताएका हुन् ।

सहमहामन्त्री पाण्डेले अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेको बताए । उनले व्यवस्थाको औचित्यमाथि नै मानिसहरूले प्रश्न उठाउन थालेको भन्दै यसलाई अझ बलियो बनाउन एकजुट हुन जरुरी रहेको बताए । उनले कांग्रेस र एमाले यो व्यवस्थाका संस्थापक भएकाले पनि एक हुन आवश्यक रहेको बताए ।

“कांग्रेस र एमाले भनेको ०४६ सालपछिका दुई मूल शक्तिहरू हुन् । एकप्रकारले यो व्यवस्थाका संस्थापक नै हुन्,” उनले भने, “हाम्रो मेलमिलाप संस्था बनाउन र भत्काउनभन्दा पनि व्यवस्था बलियो बनाउन हुन्छ भने त्यो सकारात्मक कुरा हो ।”

सहमहामन्त्री पाण्डेले एमाले र कांग्रेसको मेलमिलाप संस्था बनाउन र भत्काउन नभई व्यवस्था बलियो बनाउन हुनुपर्ने बताए ।