कांग्रेस सरकार ढाल्ने चलखेलमा छ : महेश बर्तौला

कांग्रेस सरकार ढाल्ने चलखेलमा छ : महेश बर्तौला



काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काँग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रस्तुति देखाइरहेको आरोप लगाएका हुन् ।

“राजनीतिक ढंगबाट अहिले रास्वपाको नेतृत्वकर्तालाई, गृहमन्त्रीलाई आक्रमण गर्नु भनेको यो सरकार ढाल्न सकिन्छ भनेर अंकगणितका आधारमा जसरी प्रस्तुति देखाइएको छ, रास्वपाको नेतृत्वलाई बदनाम गर्ने, टिक्न नसकेपछि यो सरकार ढाल्न सकिन्छ भन्ने ध्येयका साथ एक महिनाभित्रमा सरकार ढाल्छौँ भनिरहनुभएको छ,” उनले भने ।

उनले सुन तस्करीको प्रकरणको सन्दर्भमा सरकारले बनाएको आयोगले दिएको प्रतिवेदनको सम्पूर्ण कार्यान्वयन हुनुपर्ने बताए । अनुसन्धानले दोषी ठहर्‍याएको खण्डमा दोषी कोहीलाई पनि उम्कन दिनु नहुने बताए ।

उनले भने, ‘सुन तस्करीको प्रकरणको सन्दर्भमा सरकारले आयोग बनाएको थियो, त्यो आयोगले सरकारलाई रिपोर्ट पेस गरेको छ । त्यो रिपोर्ट बमोजिम जोजो जहाँ जहाँ जसरी संलग्नता छ । दोषका प्रकृतिका आधारबाट कानुनी कारबाही हुन्छ । प्रतिवेदनले उजागर गरेका विषयवस्तु सार्वजनिक गर्नुपर्छ । हामीले सरकारलाई संसद्‍मार्फत ध्यानाकर्षण गराएका छौँ । उजागर गरेका विषयहरू कहीँ थन्क्याउने होइन, कोही पनि मान्छे उम्किने अवस्था रहँदैन । कानुनको आँखाबाट दोषी देखिएको जोसुकै भए पनि उम्किन हुँदैन । कोही पनि दोषी सरकारको छायामा रहेका कारणले गर्दा उन्मुक्ति पाउँछ भन्ने कुरा किमार्थ हुँदैन । सरकारको यो पूर्ण कार्यान्वयन गर्नुपर्छ ।’