भविष्यमा फर्कन सक्ने गरी विदेश बस्ने नेपालीको जनसंख्या २२ लाख

भविष्यमा फर्कन सक्ने गरी विदेश बस्ने नेपालीको जनसंख्या २२ लाख



काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ अनुसार भविष्यमा नेपाल फर्कन सक्ने गरी विदेश बस्ने नेपालीहरूको जनसंख्या करिब २२ लाख छ । राष्ट्रिय तथ्याङ्क कार्यालय निर्देशक ढुण्डिराज लामिछानेका अनुसार नेपालबाट सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरू विदेश गएको देखिएको छ ।

उनले पछिल्लो १० वर्षमा हिमाल र पहाडको जनसंख्या घट्दै र तराईको जनसंख्या बढ्दै गएको देखिएको जनाए । उनले ४३.६ प्रतिशत तराई र पहाडको जनसंख्या ४०.३ प्रतिशत पुगेको बताए ।

उनले पहाडी जिल्लाका काठमाडौं र पोखरा महानगरपालिकालगायतका केही नगरपालिकामा जनसंख्या धेरै भए पनि अन्य नगरपालिकामा जनसंख्या कम देखिएको उल्लेख गरे । तथ्याङ्क कार्यालयका अनुसार उमेरको हिसाबमा ०–१४ वर्षसम्मका बालबालिकाको २०६८ जनगणनामा ३४.९ रहेकोमा २०७८ मा २७.८ प्रतिशतमा झरेको छ । त्यस्तै, १५ देखि २४ वर्ष उमेर समूहको २० प्रतिशतबाट १९.७ प्रतिशतमा झरेको छ । २५–६४ वर्ष उमेर समूहको हेर्दा ४५.५ प्रतिशतबाट झरेर ४३.३ प्रतिशतमा पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

निर्देशक लामिछानेले ६५ भन्दा माथि उमेर समूहको जनसंख्या ५.३ बाट बढेर ६.९ प्रतिशतमा पुगेको बताए । उनले नेपालको काम गर्न सक्ने जनसंख्या ६२ प्रतिशत रहेको बताए । उनले जनगणना २०६८ को तुलनामा आश्रित जनसंख्या कम रहेको बताए । उनले जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसंख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको बताए ।