रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई फिर्ता ल्याउन सरकारकाे पहल : परराष्ट्रमन्त्री श्रेष्ठ

रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई फिर्ता ल्याउन सरकारकाे पहल : परराष्ट्रमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै रुसी सेनामा सहभागी भएर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति र बीमावापतको रकम उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको बताए ।

उनले भने, “रुसी विदेश मन्त्रालयले सेनामा भर्ती भएकाहरू मध्ये घर फर्किन चाहनेहरूलाई करार रद्द गर्न सहयोग गर्नेबारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ । तर, त्यसको मोडालिटी तय हुन बाँकी रहेको छ । यसबारे मस्को स्थित नेपाली राजदूतावासले निरन्तर फलोअप गरिरहेका छ । युक्रेनमा बन्दी बनाइएकाहरूको फोटो सार्वजनिक भएको छ । उहाँहरूलाई नेपाल फर्काउने प्रयास भइरहेको छ ।”

रुसी सेनामा रहेका नेपालीहरूको सन्दर्भमा र युक्रेनमा रुसी सेनामा भर्ती भएकै कारणले बन्दी बनाइएका नेपालीहरुबारे सरकारले सम्पूर्ण रूपले समस्या समाधान गर्ने संकल्पको साथ अघि बढिरहेको बताए ।

परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र मामलाका सम्बन्धमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रिय हितलाई सर्वोपरि राख्ने गरी परराष्ट्र नीति अवलम्बन नगरिए गम्भीर चुनौती आउने भन्दै त्यसका लागि सबै एक ठाउँमा आउनुपर्ने जनाए ।

‘परराष्ट्र सम्बन्ध र कूटनीतिका मामलामा राष्ट्रिय सहमतिको आवश्यकता छ । हामीले हाम्रो देशको हितलाई केन्द्रमा राखेर सबैले यस मामलामा सहमतिका साथ अघि बढ्नुपर्नेछ’, उनले भने, ‘हामीले हाम्रो देशको हितलाई केन्द्रबिन्दुमा राख्दा कहीँ कतै कुनै कारणले अन्य स्वार्थहरू हाबी हुन दियौ भने, त्यसबाट प्रभावित भयौ भने हाम्रा पुर्खाहरूले हामीलाई दिएको यो स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न देशको राष्ट्रिय हितका सन्दर्भमा गम्भीर चुनौतीहरू उपस्थित हुन सक्छन् ।’

‘दुई छिमेकीसँगको सम्बन्धलाई प्राथमिकता, सबै विश्वका मित्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारहरूसँग पनि सहभागितामूलक सुसम्बन्धका आधारमा हाम्रो परराष्ट्र नीति सञ्चालित हुने र अघि बढ्नेछौ’, मन्त्री श्रेष्ठको भनाइ छ ।