हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ

हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ



काठमाडौं । दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् ।

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि दीपक खड्का र रामकुमार धिमाललाई प्रहरीले पक्राउ गरेको हाे । उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको छ ।

सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । प्रसाईँ आज मुद्दाको सुनुवाइका लागि गाडीसहित सर्वोच्च पुगेका थिए ।

सर्वोच्च अदालतको मूलगेटमा चेक गर्नेक्रममा उनीहरूबाट बन्दुक बरामद गरेको हो ।

‘ठूले स्वीडेन’ लेखिएको कालो रंगको झोलाभित्र स्वचालित हतियार एउटा, सानो दुई वटा म्यागजिन, दुई वटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउण्ड गोली पनि बरामद भएको छ ।

प्रहरीका अनुसार बरामद भएको हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त भएको हो ।