पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतलेले अनुमति दिएको प्रहरी जानकारी दिएकाे छ । न्यायाधीश दुर्गा प्रसाद खनालको इजालसले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा साेमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका थिए ।

लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ल्याइएको थियो । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो ।

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।