गण्डकी प्रदेशमा पाण्डे नेतृत्वको सरकार ‘सुरक्षित’

गण्डकी प्रदेशमा पाण्डे नेतृत्वको सरकार ‘सुरक्षित’



काठमाडौं । संघीय गठबन्धन फेरिएसँगै गण्डकी प्रदेश सरकार पनि परिवर्तन हुने चर्चा चलेका बेला वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार नै सुरक्षित रहेको बताउन थालिएको छ । प्रदेश सरकार टिकाउन नयाँ गठबन्धनको कसरतमा जुटेका मुख्य मन्त्री पाण्डेको पद पछिल्लो विकसित राजनीतिक घटनाक्रमले सुरक्षित रहेको बताइएको छ । सरकारलाई सुरक्षित गर्न मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसदको हैसियत बनाएका राजीव गुरुङलाई मन्त्री नियुक्त गरिसकेका छन् ।

तत्कालको अंक गणितले मुख्यमन्त्री अल्पमतमा देखिन्छन् । कांग्रेसको २७, राप्रपा २ र स्वतन्त्र १ सांसदले मात्र पाण्डे नेतृत्वको सरकार सुरक्षित हुँदैन् । यो संख्या जोड्दा ३० मात्र हुन्छ । उसलाई बहुमत पु-याउन अझै १ मत पुग्दैन । त्यो एक मत माओवादीबाटै फ्लोरक्रस भएर आउने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

सभामुखसहित ८ सांसद रहेको माओवादी र २२ सांसद रहेको एमाले वर्तमान सरकार ढालेर नयाँ सरकार गठनको कसरतमा जुटेको छन् । यो गठबन्धनको पनि सभामुखसहित ३० मात्रै पुग्छ । बहुमतका लागि ३१ मत आवश्यक पर्छ । त्यसैले स्वतन्त्र अथवा राप्रपाको सहयोग बिना नयाँ सरकार गठन हुने सम्भावना देखिदैन । नेकपा समाजवादीका राजीव गुरुङले स्वतन्त्रको हैसियत रोजेपछि नयाँ सरकार गठनमा समस्या देखिएको हो ।

६० सदस्य प्रदेशसभामा दुई सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहयोग गरे नयाँ सरकार सजिलै बन्न सक्छ । राप्रपाले मध्यावधि निर्वाचनमा नजाने स्पष्ट पारिसकेको छ । तर कसलाई सहयोग गर्ने भन्ने विषयमा निर्णय गरिसकेको छैन । यो निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिइएको छ ।

अध्यक्ष लिङ्देनले चैत १६ गतेपछि मात्र निर्णय लिने बताइएका छन् । काठमाडौं केन्द्रित जनसंघर्षको कार्यक्रम घोषणा गरिसकेका राप्रपा अध्यक्ष लिङदेनले वर्तमान गठबन्धन सरकारलाई नोटिसमा राखेको संसदमै अभिव्यक्ति दिएका थिए ।

नयाँ सरकार गठनका लागि एमालेले तयारी गरिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरा पुगेर गण्डकी प्रदेश सरकारमा माओवादी केन्द्रको नेतृत्व हुने र त्यसको तयारीमा लाग्न निर्देशन दिएका थिए ।