पर्वत । बाँदरको आतंक बढेपछि पर्वतको पैयुँ गाउँपालिकाले ३५ जना कर्मचारी नियुक्त गर्ने तयारी गरेको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतंक बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए ।
पैयुँ गाउँपालिकाको सोमबारको १३ औं गाउँसभाले सातवटै वडामा पाँच–पाँच जना बाँदर हेरालु कर्मचारी राख्ने निर्णय गरेको अध्यक्ष ठकुरीले बताए ।
उनले बालीनाली लगाउने समयमा मात्र त्यस्ता हेरालु राख्न लागिएको बताए । अहिले मकै छर्ने बेला भएको छ । चैतमा मकै छर्ने बेलामा एक महिना र मकैले सुत्ला भिरेदेखि पाक्नेबेलासम्मको समय (जेठ–असार) मा त्यसरी कर्मचारी नियुक्त गरिने उनले बताए ।
उनीहरूलाई मासिक १५ हजारका दरले तलब सुविधा दिने तयारी भइरहेको पनि गाउँपालिका अध्यक्ष मल्लले बताए ।
‘अघिल्लो वर्ष हामीले झाडी फँडानी गर्यौं। बाँसका झ्याङहरू हटायौं। तै पनि बाँदर आउन कमी नभएपछि धपाउने मानिस नै राख्न लागेका हौं,’ उनले भने, ‘बाँदरले बस्ती नै उखेल्न लागेपछि हामीले यो उपाय अपनायौं। हेरौं, कत्तिको सफल हुन्छ।’
बाँदर नियन्त्रण योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा पालिकाले सात लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।


प्रतिक्रिया