काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले चार वर्ष सदन अवरूद्ध गर्न चुनौती दिएका छन् ।मंगलबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूहरूले कामले जबाफ दिने बताए ।
कांग्रेसले सहकारी प्रकरणमा लामिछाने जोडिएको भन्दै पदबाट राजीनामा दिनुपर्ने र यसबारे छानबिन गर्न संसदीय समिति गठनको मागसमेत गर्दै आएकोमा उनले यस्ताे जवाफ दिएका हुन् ।
गृहमन्त्री लामिछाने भने, ‘एउटा ठाडो उजुरीमा संसद नै अवरूद्ध गर्ने, समिति नै बनाउने, राजीनामा नै माग्ने हो भने यसमा अडिरहन म साथीहरूलाई भन्न चाहन्छु । हामीले कामले जबाफ दिने हो, जुन नेपाली जनताले दिइरहन्छन् ।’
संसद अवरोध गर्ने र संसदीय समितिको माग गर्ने कांग्रेसको अधिकारको कुरा भएको लामिछानेले बताए ।
‘म भन्छु, नेपाली कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस् । अहिलेको हाम्रो यो संयन्त्रले काम गरोस् । अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने ? सुशासनको कुरा गर्ने ? चार वर्ष अवरूद्ध गरोस् कांग्रेसले । चार वर्षपछि यसैगरि अवरुद्ध भइरह्यो र यो संयन्त्रले मजाले काम गर्न पायो भने चार वर्षपछि के थाहा, धेरै मान्छे सदनमा हुँदै हुने छैनन् ।,’ गृहमन्त्री लामिछानेले भने ।


प्रतिक्रिया